आर.के. चौधरी
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका– २ मा रहेको कोडेक कृषि सहकारी संस्था लिमिटेडलाई मल वितरण गर्न रोक लगाउने गाउँपालिकाको निर्णय जनकपुरधामस्थित उच्च अदालतले बदर गर्दै परमादेश जारी गरेको छ ।उच्च अदालत जनकपुरले मंगलवार फैसला गर्दै, गाउँपालिकाकी उपाध्यक्ष तथा मल वितरण व्यवस्थापन समितिकी संयोजक शर्मिला बिष्ट महतोको पहलमा गरिएको मल वितरण रोक्का गर्ने निर्णय कानुनविपरीत रहेको ठहर गरेको हो ।
अदालतको आदेशअनुसार, मल वितरण व्यवस्थापन समितिकी संयोजक शर्मिला बिष्ट महतोले आफ्नो निर्णयका आधारमा कोडेक कृषि सहकारीलाई मल वितरण गर्न रोक लगाएको देखिए पनि उक्त निर्णय कानूनी प्रक्रिया र लागू निर्देशिकाविपरीत रहेको स्पष्ट गरिएको छ ।

अदालतले सखुवा प्रसौनी गाउँपालिकाको अनुमति प्राप्त अवस्थामा कोडेक कृषि सहकारीले मल वितरण गरिरहेको अवस्थामा कुनै पूर्वसूचना नदिई, एकपक्षीय रूपमा र प्रक्रिया पूरा नगरी रोक लगाउनु गैरकानुनी भएको उल्लेख गरेको छ ।
त्यसैगरी, उच्च अदालतले मल वितरण व्यवस्थापन समितिको निर्देशिका, २०७७ (दफा २६(१)) विपरीत गई बेलमाई कृषि सहकारी संस्था लिमिटेडलाई मल विक्रेता तोक्ने भनी मिति २०८२-०४-२३ मा गरिएको निर्णयलाई पनि उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ ।अदालतले निवेदक कोडेक कृषि सहकारी संस्था लिमिटेडलाई समेत समेटी, सम्बन्धित सबै सरोकारवाला निकायहरूले कानुन बमोजिम निष्पक्ष, पारदर्शी र उचित निर्णय गरी मल वितरणको व्यवस्था गर्नुपर्ने भन्दै विपक्षीहरूको नाममा परमादेश जारी गरेको छ ।

Leave a Reply