वीरगञ्ज,चितवनको सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाँउपालिकाका ५ जनाका परिवारलाई गाँउपालिका कार्यालयले राहत स्वरूप जनही १-१ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
गत शुक्रवार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसमा सखुवा प्रसौनी गाउँपालिकाका चार र महुवन स्वास्थ्य चौकीमा कार्यरत एकसहित पाँचजना परेकाले राहतस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने गाउँपालिका अध्यक्ष यशवन्त यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीन जनासहित पाँच जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव भेटिएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवारमध्ये सखुवा प्रसौनी–२ जमुनियाकी २४ वर्षीया प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दुरीमा बुधवार भेटिएको थियो ।उहाँको बिहीवार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ। बसमा सवार उनका बुबा हृदय नारायण चौधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ। उनीहरू तीनै जना आमा भगवती देवीको उपचार गराउन वीरगञ्जबाट बस चढेर काठमाडौं जाँदै थिए।यस्तै, एञ्जल बसमै सवार सखुवा प्रसौनी गाउँपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसौनी– ५ महुवनको स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्यचौकीमा कार्यरत थिए ।

१९ जनाको शव प्राप्त
काठमाण्डौं,पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव प्राप्त भएको छ । जसमध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन ।अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र रौतहट चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ।

यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव पनि सनाखत भएको छ।गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस यात्रुसहित पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।दुवै बसमा गरी ६५ यात्रु रहेकोमा रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले पौडिएर ज्यान जोगाएका थिए। नदीमा बेपत्ता बस र यात्रुको खोजीकार्य भइरहेको छ ।

Leave a Reply