पुष्पराज खतिवडा
मनहर्वा,बारामा केही दिनयता ठण्डी बढेको छ । हुस्सु हटे पनि तापक्रम भने निक्कै घटेको छ । ठण्डी बढेसंगै जिल्लामा जनजीवन प्रभावित बनेको छ । विशेष गरी गरिव र विपन्न समुदाय यसको मारमा परेका छन् । गतिला आड्ने, ओछ्याउने र लगाउने कपडा समेत नभएका परिवारलाई जाडोमा जीवन चलाउन मुस्किल हुने गरेको पाइएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर २१ मटेरिया दलित बस्तिका ६० बर्षिय सिताराम महराले ठण्डीमा सँधै समस्या हुने गरेको बताउनुभयो । आँगनमा पराल बालेर धुनी तापिरहेका महराले कृपा दैनिकसंग भन्नुभयो, गतिला ओड्ने ओछ्याउने छैनन् । सुकुल गुद्रीमा तन्ना ओडेर सुत्नु पर्ने बाध्यता छ । रात बिताउन आगो तापेर बस्छौं ।’ उहाँले ठण्डीले ज्यालाको काममा जान नसकिएको पनि बताउनुभयो । तन्नेरी छोराहरु भने कमाउन घरबाहिर गएको र उनीहरुकै कमाइबाट दैनिक हातमुख जोर्ने जोहो भएको उनको भनाइ छ । ‘सिरक, डसना र ज्याकेट किन्न कहिल्यै पैसा पुग्दैन ।’ महराले भन्नुभयो ।यस्तै अर्का स्थानीय भगरु रामले समेत यस्तै गुनासो सुनाउनुभएको छ । पातलो दोसल्ला ओडेर आगो तापिरहेको अवस्थामा भेटिनुभएका झगरुले भन्नुभयो, परालमाथि परालको सुकुल ओडेर रात कटाउँछौं ।’ बाहिर काम गर्न जान नसक्ने बताउदै उहाँले जाडो याम आएपछि काल आए जस्तो लाग्ने गरेको सुनाउनुभयो ।जाडोबाट सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको स्थानीय गृहिणी सविता देवी रामले बताउनुभयो । ‘बिहान सबेरै उठेर घरभन्धा गर्नुपर्छ, उहाँले भन्नुभयो, जाडो धेरै छ तर आङ्गमा लाउने बाक्ला कपडा छैनन् ।’ उहाँले पनि ठण्डी महिनामा जनजीवन कष्टप्रद हुने गरेको सुनाउनुभयो । जाडोमा कपडासंगै खानेकुराको पनि अभाव हुने गरेको उहाँले सुनाउनुभयो । ‘ज्यालाबोनीको काममा निस्कन सकिदैन, उहाँले भन्नुभयो, लत्ताकपडा मात्रै होइन, काम गर्न नपाएपछि खानेकुराको पनि अभाव हुन्छ ।’ बालबालिका र बुढाबुढी स्याहार गर्न झनै गारो हुने गरेको उहाँले सुनाउनुभयो ।दलित बस्तिका सर्वसाधारणले स्थानीय सरकार वा अर्को कुनै सरकारी निकायले आफूहरुको समस्यामा चासो नदेखाएको गुनासो गरेका छन । ‘हाम्रो समस्यामा कसैले चासो राख्दैनन, अर्का स्थानीय सकल रामले भन्नुभयो, आफ्नो समस्या आफैसंग छ, अरुलाई सुनाएर केही फाइदा छैन ।’


















