रौतहट,रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल परिसरभित्र संचालन भइरहेको चमेना गृह (क्यान्टिन) मा बिरामीका कुरुवालाई बासी खाना खुवाइएको खुलासा भएपछि चमेना गृहमा ताला लगाइएको छ। खाना अस्वस्थकर र बासी भएको पुष्टि भएपछि प्रहरीले तत्काल कर्मचारी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।यमुनामाई गाउँपालिका–२ का वडा अध्यक्ष सीताराम यादव आइतवार राति आफ्ना काका रामस्वरुप यादवलाई पिसाब थैलीमा समस्या देखिएपछि अस्पताल भर्ना गराई कुरुवा बसेका थिए। सोमवार विहान चमेना गृहमा खाना खाँदा सुरुमा खाना ठीक भए पनि थप खानामा भने बासी भात र गन्हाउने तरकारी दिएको आरोप यादवले लगाउनुभएको छ ।

उहाँका अनुसार बासी खाना पस्किएकोबारे उजुरी गर्न जाँदा क्यान्टिन कर्मचारीले सुरुमा अस्वीकार गरे पनि पछि गल्ती स्वीकार गरेका थिए। वडा अध्यक्ष यादवले आफूहरुलाई यस्तो खाना दिने अस्पतालले अन्य सर्वसाधारण बिरामी तथा कुरुवालाई कस्तो खाना दिएको होला भनेर कल्पना पनि गर्न नसकिनेभन्दै घटनाको बारेमा प्रहरीमा खबर गर्नुभएको थियो ।
वडा अध्यक्षको सूचनामा प्रहरी टोली र सञ्चारकर्मी पुगेपछि, क्यान्टिनमा बासी खाना, सरसफाइको अभाव र नेपाल सरकारले प्रतिबन्ध लगाएको सेतो अण्डा समेत फेला परेको थियो। २०८१ साल असोजदेखि सुनरजित गिरीले ठेक्का लिएर सञ्चालनमा ल्याएको चमेना गृहमा स्वास्थ्य मापदण्डको घोर लापरवाही देखिएको हो।प्रहरीले आवश्यक मुचुल्का उठाई कर्मचारी नियन्त्रणमा लिई क्यान्टिनमा ताला लगाएको छ।
प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले घटनाप्रति गम्भीर प्रतिक्रिया दिँदै, आइतवार नै क्यान्टिन संचालकलाई बोलाएर सुधार गर्न निर्देशन दिइसकेको तर त्यसको पालना नभएको स्पष्ट पार्नुभयो।‘संचालकको नियत ठीक नरहेकाले अब कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ,’ डा. ठाकुरले बताउनुभयो । उहाँले अस्पताल परिसरमा गुणस्तरीय, पोषणयुक्त र सरकारद्वारा तोकिएको मापदण्ड अनुसारको खाना उपलब्ध गराउने उद्देश्यले क्यान्टिन संचालनमा ल्याइएको भए पनि अहिलेको अवस्थाले त्यो उद्देश्य विपरित भएको जनाउनुभयो ।


















