वीरगञ्ज सहित समग्र मधेसको माहौल अलिक बिग्रिएको छ अहिले । वीरगञ्जको माहौल खलबलिन पुगेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।वास्तवमा बिगत केही देखि वीरगञ्जको माहोल बिग्रिएको छ र अझै बिगार्ने प्रयास भइरहेको छ । एउटा सत्य कुरा के हो भने नेपालमा यो वा त्यो कारणले धार्मिक वा सामाजिक सद्भाव बिगारेर देशमा हिंसा भड्काउन चाहने तत्व छ । त्यो तत्वले केवल समय मात्र कुरिरहेको छ कहाँ कसरी यो भड्काउँदा आफूलाई फाइदा हुन्छ भनेर । हो, वीरगञ्जमा रहेका मुस्लिम समुदाय र हिन्दु समुदायको भावना पनि चोट लागेको छ नै ।
कसैले कसैको धार्मिक आस्थामाथि धावा बोलेपछि चित्त दुख्नु र रिस उठ्नु स्वभाविक नै होला तर यस्तोमा संमेमता आवश्यक छ । धर्मको सार एउटै हो । यहाँ यो वा त्यो धर्मको नाउमा समाज विभाजन भएर लडाइमा उत्रनु पर्दैन । सबै धर्मको एउटै उद्देश्य हो मानवता । यही कुरालाई ख्याल यस्तोमा सबैले बढी गर्न आवश्यक छ । समाजमा धार्मिक अगुवाहरु पनि छन् । आफ्नो धर्मको प्रचार गर्ने वा आफ्नो धर्मको बिषयमा त्यही धर्म मान्नेका माझमा कुरा राख्ने अधिकार त संबिधानले नै दिएको छ ।
यस्तोमा धार्मिक अगुवाहरुले चासो दिएर समाजमा देखिएको यस्तो अवस्थाको अन्त्यका लागि भूमिका खेल्न आवश्यक छ । मुस्लिम धर्मका अगुवा मौलबी हुन् वा हिन्दु धर्मका ज्योषिती वा पंडित सबैले यस्तो अवस्थामा बढी चनाखो भएर समाजमा थप झडपको अवस्था आउन नदिनका लागि भूमिका खेल्नु पर्दछ र अहिलेको अवस्थामा पनि उनीहरुकै आवश्यकता छ । बिगतमा पनि उनीहरुको यस्तोमा निकै राम्रो भूमिका रहेको छ र फेरि एक पटक भूमिका निर्वाह गरौं र वीरगञ्ज सहित मधेसलाई नै शान्त बनाऊ ।















