बुधबार एकछिन बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । नागरिकको आवाज बुलन्द गर्ने सर्वोच्च थलो संसदमा प्रमुख प्रतिपक्ष दल एमाले र सभामुखबीच घोचपेच चलेको छ । झण्डै चार वर्षको अवधिमा दुईपटक विघटन भएको संसद्लाई सर्वोच्च अदालतले पुनर्जीवित बनाएको छ । दोस्रोपटक संसद् पुनःस्थापना भएपछि शुरू भएको संसद्को बैठक सहजरूपमा सञ्चालन हुन सकिरहेको छैन । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले र जनता समाजवादी विभाजित बन्न पुग्यो ।
अध्यादेश जारी गएपछि नेकपा एमालेले पार्टीका १४ सांसदमाथि गरिएको कारबाहीको विषयमा सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेकोप्रति आपत्ति जनाउँदै आएको छ । एमालेले सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ ।
प्रतिपक्ष दल र सभामुख विवाद उत्कर्षमा पुगेका बेला शुरू भएको संसद् बैठकमा नेकपा एमालेले नियमितरूपमा संसदमा नाराबाजी र अवरोध गर्दै आएको छ । सभामुखलाई नै कारबाही गर्नुपर्ने माग एमालेले अगाडि सारेपछि प्रतिपक्ष दल र सभामुखबीच संवादको वातावरणसमेत बन्न सकेको छैन । संसदमा एमालेले सभामुख अग्नि सापकोटाको राजीनामा समेत माग गर्दै आएको छ ।
संसद् सञ्चालन गर्न सभामुख, सत्ता पक्ष र प्रतिपक्ष दलबीच समन्वय आवश्यक हुन्छ । तर, सरकारले निर्देशनमा सभामुख चलेको भन्दै एमालेले सहजरूपमा संसद् सुचारु गर्न नदिने चेतावनी दिएको छ । यसअघि बसेको संसद् बैठकमा एमालेको अवरोधकैबीच सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित गरेको थियो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको हो ।