काठमाण्डौं,भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गर्नुभएको छ । कार्यवाहक राष्ट्रपतिका रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ ।५६ वर्षीया डेल्सी रोड्रिगेजले आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको र अमेरिकासँग सन्तुलित र सम्मानजनक सम्बन्धतर्फ अघि बढ्ने कुरालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र सहयोगको एजेन्डा पछ्याउन मद्दत गर्न आग्रह गर्नुभएको खबरमा उल्लेख छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भेनेजुएलालाई शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार रहेको उल्लेख गर्नुभयो ।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको नेतृत्व अमेरिकाको हातमा रहेको कुरामा फेरि जोड दिनुभएको छ । ट्रम्पले भेनेजुएलाकी नयाँ नेता रोड्रिगेजलाई सही काम नगरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो ।
अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरोका दम्पतीलाई न्युयोर्क पुर्याएपछि अमेरिकाले नै रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको हो ।यसैबीच अमेरिकाले लागूऔषधको मुद्दामा मदुरोलाई न्युयोर्कको अदालतमा उपस्थित गराउँदै छ ।


















