निजगढ,निजगढ नगरपालिकाले नगरभित्र रहेका भूमिहिन दलित÷ भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने क्रममा आइतवार सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नगरपालिकाले विगतका आयोग, समिति र कार्यदलको बाँकी काम लगायत कार्यहरुको बारेमा प्रगति र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा छलफल र सुझाव संकलन गर्न सरोकारवालाहरुसंग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय विज्ञ सदस्य जगतबहादुर बस्नेतको बिशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा आयोगकी केन्द्रीय सदस्य एवं मधेश प्रदेश ईन्चार्ज आरती भण्डारी, जिल्ला अध्यक्ष भारतबहादुर घलेलगायत जिल्ला मालपोत कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, कार्यपालिका सदस्यहरु, नगरस्तरीय सहजीकरण समितिका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका विज्ञ सदस्य बस्नेतले तत्कालै जनताले लालपुर्जा पाउनेगरी जिल्ला समिति, स्थानीय पालिका तथा वडा कार्यालयले काम गर्नुपर्ने बताउदै कुनैपनि समस्या देखापरेमा आफुले पूर्ण रुपले सहयोग गर्ने बताउनुभएको छ ।

बस्नेतले निजगढ नगर प्रमुखले आयोग समक्ष विशेष चासो देखाएकोले आफू पटक पटक निजगढ आएर जनप्रतिनिधिका अप्ठ्यारो र जिज्ञासा मेटाउने कार्य गरेको बताउनुभएको छ ।

भूमिहिन दलित÷भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाधनीे पुर्जा वितरणको लागि वडा कार्यालयको भूमिका महत्वपूर्ण रहनुपर्ने भएकोले सबै वडा अध्यक्षहरुले थप जिम्मेवार भएर कामगर्नुपर्ने बस्नेतले बताउनुभएको थियो । आयोगले अन्य प्रदेशहरुमा हालसम्म ३ हजार २ सय जग्गाधनी पुर्र्जा वितरण गरिसकेको बताउदै बस्नेतले मधेस प्रदेशमा आजसम्म एउटा पनि लालपुर्जा बितरण हुन नसकेकोमा चिन्ता समेत व्यक्त गर्नुभएको थियो ।

निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहनीकरण अमिन अनिल शाहले गर्नुभएको थियो ।

Leave a Reply