राजन कुमार बनिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा आज सम्पन्न भएको छ । पोखरियास्थित नगरपालिकाको सभा हलमा आयोजित नगरसभाको उद्घाटन नगरप्रमुख प्रद्युम्न चौहानले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको हो ।नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा उहाँले पोखरिया नगरपालिकाको समग्र विकासका लागि आफू निरन्तर लागिपरेको बताउनुभयो । मालपोत कार्यालय, नापी शाखा तथा प्रादेशिक अस्पताल नगरपालिकाभित्र ल्याउन सफल भएको उल्लेख गर्दै उहाँले यी कार्यहरू महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । साथै इलाका प्रशासन कार्यालय स्थापना प्रक्रिया पूरा भइसकेको र केही दिनमै सञ्चालनमा आउने उहाँको भनाइ थियो ।
नगरप्रमुख चौहानले नेरा मावि महोबनीको विद्यालय भवन निर्माणका लागि टेन्डर भइसकेको तथा जिल्ला उच्चाङ्ग रामदेव माविको पुरानो भवन हटाई नयाँ भवन निर्माणको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यसैगरी नगर विकास समितिको सहयोगमा बजार क्षेत्रमा खटाल निर्माण, नगरपालिकाभित्र उद्योग व्यवस्थापनलगायतका कार्यक्रमहरू हिउँदे नगरसभाबाट पारित गरिएको बताउनुभयो ।

नगरपालिकाको योजनाअनुसार निर्माणलगायतका कार्यहरू आफूले सकेसम्म बाँकी नराखी अघि बढाएको नगरप्रमुख चौहानले स्पष्ट पार्नुभयो । राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयका कारण विकास निर्माणका काम तीव्र रूपमा अगाडि बढिरहेको उहाँको भनाइ थियो ।चालु आर्थिक वर्षमा बजेट घटेकाले विकास निर्माण कार्यमा केही ढिलाइ भएको नगरप्रमुख चौहानले स्वीकार गर्नुभयो । बजेटभन्दा बढी योजनाहरू समावेश हुँदा समस्या देखिएको उल्लेख गर्दै बाँकी विकास निर्माणका काम माघ महिनादेखि सुरु हुने जानकारी दिनुभयो ।हिउँदे नगरसभामा उप–नगरप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले आफू हालै मात्र सरुवा भई आएको उल्लेख गर्दै आफ्नो हस्ताक्षरबाट हुने कामलाई प्राथमिकतामा राखी जनताका काम छिटो र छरितो रूपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समयमै पर्याप्त ध्यान नपुग्दा नेपाल सरकारबाट प्राप्त बजेटभन्दा बढीको योजना समावेश भएको र आगामी दिनमा बजेट संशोधन गरी विकासका काम अघि बढाइने बताउनुभयो ।

विशेष नगरसभा कार्यक्रममा वडा अध्यक्षहरू लक्ष्मण साह कानु, नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, शियानन्द चौहान, प्रमानन्द पटेल, किशोरी साहलगायतले हिउँदे नगरसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यपालिका सदस्यहरू रामबचन महतो, अजय साहलगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारीहरू, लेखापाल मन्दीप महतो, योजना शाखा प्रमुख संजय पाण्डे, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सह–संयोजक शिवसिंह पटेलले गर्नुभएको थियो ।

Leave a Reply