मनोज शाह
जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण अधुरो रहँदा विद्यार्थी र अभिभावकहरू चिन्तामा परेका छन्।विद्यालय भवन निर्माणका लागि जिम्मा लिएको ठेकेदार कम्पनीले केवल जगको खाल्डो खनेर महिनौँदेखि भवन अलपत्र पारेपछि विद्यार्थी र अभिभावकहरू चिन्तित बनेका हुन । स्थानीय मालती गिरीका अनुसार विद्यालय भवन निर्माणमा देखिएको ढिलासुस्तीले विद्यार्थीको पठनपाठनमा प्रतिकूल असर पर्न थालेको छ।

विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहले भवन निर्माण समयमै सम्पन्न भएमा विद्यार्थीहरूको पढाइ सहज हुने बताउनुभयो । तर निर्माण कार्यमा अहिलेसम्म कुनै प्रगति नदेखिँदा विद्यालय प्रशासन स्वंम पनि अन्योलमा परेको छ।
निर्माण कार्यको जिम्मा लिएको एनके कन्स्ट्रक्सन, वीरगञ्जका सञ्चालक देवराज चौरासियाले काम भइरहेको दाबी गरे पनि विद्यालय परिसरमा निर्माण कार्य महिनौँदेखि अलपत्र अवस्थामा छ । जुन प्रत्यक्ष अवलोकनबाटै प्रस्ट हुन्छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिलकुमार गुप्ताले भन्नुभयो, “हामी छिटोभन्दा छिटो ठेकेदारलाई बोलाएर निर्माण कार्य तीव्र पार्ने पहल गर्दैछौं। साथै, सम्बन्धित निकायसँग समन्वय गरी भवन निर्माण चाँडो सम्पन्न गर्ने प्रयासमा छौं।”
उता, भवन निर्माण कार्य रोकिएपछि अन्यौलमा परेका अभिभावकहरूले यदि चाँडै काम सुरु नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। विद्यालय भवन निर्माणमा देखिएको ढिलाइले सामुदायिक शिक्षाको गुणस्तरमा असर पर्ने भन्दै स्थानीयवासी पनि चिन्तित छन्।

Leave a Reply