पुष्पराज खतिवडा
बारा,करैयामाई गाउँपालिका वडा नम्बर ५ मा अवस्थित साना किसान कृषि सहकारी संस्था लि. तेतरिया, बाराको १५औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।संस्थाको कृषि केन्द्र परिसरमा जिल्ला सहकारी संघ बारा अध्यक्ष उपेन्द्र जैसवालले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।प्रमुख अतिथि जैसवालले ग्रामीण सहकारीहरू सदस्यहरूको विश्वास र इमान्दारितामा सञ्चालन हुने बताउँदै सदस्यहरूले संकटमा लिएको कर्जा समयमै फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो । साथै नियमित बचतको बानी विकास गर्दै सहकारीमार्फत ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा साना किसान कृषि संघ बारा अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष नयनकला खड्का, साना किसान कृषि सहकारी संस्था भोडहाका अध्यक्ष पुनदेव रौनियार, मनहर्वा सहकारीका प्रबन्धक पुष्पराज खतिवडा, इनर्वासिराह सहकारीका झपेन्द्रराज बराल, सपही सहकारीका प्रबन्धक अरुण चौधरीलगायतले सहकारीको विकास, विस्तार तथा सफलताको कामना गर्नुभएको थियो ।
वार्षिक साधारणसभामा संस्थागत प्रतिवेदन, आन्तरिक लेखा सुरक्षण समितिको प्रतिवेदन, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा चालु र आगामी आर्थिक वर्षका बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।प्रतिवेदनअनुसार २ हजार ७ सय १२ जना सदस्य रहेको सहकारीले हालसम्म ४६ करोड ५ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गर्दै आएको छ । साथै सहकारीले दुग्ध संकलन, बीउ उत्पादन तथा कृषि उपकरण केन्द्रसमेत सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ ।सभामा आधा दर्जन असल ऋण तथा बचत कारोबारी सदस्यलाई सम्मान गरिएको थियो। चालु आर्थिक वर्षमा ११ लाख ९८ हजार रुपैयाँ मात्र नाफा भएकोले यस वर्ष सदस्यहरूलाई लाभांश वितरण गर्न नसक्ने सहकारीले जनाएको छ । गत वर्ष ८९ लाख रुपैयाँ नाफा गरेको संस्थाले सदस्यहरूलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।कार्यक्रम संस्थाकी अध्यक्ष कान्ती देवीको सभाध्यक्षता, सञ्चालक सङ्गीता देवी चौधरीको स्वागत मन्तव्य तथा प्रबन्धक भुपेन्द्र चौधरीको सञ्चालनमा सम्पन्न भएको हो ।

















