काठमाण्डौ – उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ । भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न बनेको आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो ।योसँगै आयोगले स्थानहद लगाएका सबैको फुकुवा भएको छ । आयोगले असोज १२ गते निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापालाई स्थानहद लगाएको थियो ।
आगोगका प्रतिनिधि हिजो ओली निवास गुण्डुमै पुगेर लिखित जवाफ लिएका हुन् । ओलीले आन्दोलनकारीमाथि गोली चल्दा कैयौँको ज्यान गएको घटनामा आफ्नो संलग्नता नरहेको आशयको बयान दिनुभएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले नवयुवा आन्दोलनसम्बन्धी सोधपुछ कार्य लगभग सकिएको र समयमै बुझाउने गरि प्रतिवेदन तयार पार्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार झन्डै डेढ सय जनासँग सोधपुछ सकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले लिखित उत्तर दिइसक्नुभएको छ भने काठमाण्डौ महानगरपालिकाका मेयर बालेन बालेन्द्र शाहेलाई पठाएको प्रश्नावलीको जवाफ आउन बाँकी छ ।सरकारले शुरू तीन महिनाको समय दिएर गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको अवधि पछि एक महिना थपिएको थियो । थपिएको म्याद माघको पहिलो हप्ता सकिने छ ।


















