निजगढ,लागूऔषध गाँजाको कारोबारमा संलग्न भएर फरार रहदै आएकी एकजना महिलालाई इलाका प्रहरी कार्यालय निजगढले अढाइ महिनापछि पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुर बकैया गाउँपालिकाकी २४ वर्षिय विमला घिसिङ्ग शाक्यलाई ललितपुरको चाँपागाउँबाट पक्राउ गरी थप अनुसन्धानको लागि शुक्रवार बिहान निजगढ ल्याएको हो ।
इर्लाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जिव ओलीले दिएको जानकारी अनु्सार चेकजाचको क्रममा प्रदेश ३, ३४९३ नम्बरको मोटरसाइकलमा बिमला र लालकाजी घिसिङ्गलाई १३ केजी गाँजासहित गत असार ९ गते पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिकबाट नियन्त्रणमा लिएको थियो । तर बिमला भने चेकजाचकै क्रममा पिसाब फेर्न जान्छु भनेर जंगलतर्फ लागेको उतैबाट फरार बनेकी थिइन ।
अनुसनधानको क्रममा प्रहरीले चाँपागाउँको एक घरको डेरामा लुकिछिपी बसेको अवस्थामा बिमलालाई पक्राउ गरेर निजगढ ल्याइएको र जिल्ला अदालत बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको निरीक्षक ओलीले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा दुबै जना लागूऔषधको कारोबारी भएको प्रहरीले बताएको छ । लालकाजी भने सोही दिनदेखि प्रहरीको हिरासतमा रहदै आएका छन ।

















