कलैया,राष्ट्रिय सभा सदस्य चुनावमा मधेश प्रदेशबाट गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । उहाँ ६ हजार १ सय ५६ मतभारका साथ विजयी हुनुभएको हो ।
त्यस्तै अर्काे सिटमा सत्ता गठबन्धन दलबाट जसपाका खालिद सिद्दिकी विजयी हुनुभएको छ । उहाँ ६ हजार ६ सय ७८ मतभार ल्याएर विजयी हुनुभएको हो ।
कुल मतदाता ३ सय ७२ जना रहेकामा ३ सय ६६ जनाले मतदान गरेका थिए । चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेश सभा सदस्यले मतदान गरेनन् ।
तर प्रदेश नम्बर १ मा भने गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ ।
गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण पराजय हुनुभएको छ ।
शेर्पाले चार हजार सात सय ५२ मतभार र राईले चार हजार ३ सय ६८ मतभार प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई र कांग्रेसका गोपाल बस्नेत विजयी हुनुभएको छ । एमालेका गुरु बराल र कांग्रेसका बस्नेतको मत बराबर भएपछि गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी हुनुभएको हो ।
त्यसैगरी वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् ।
तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाकी गीता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य सदस्य पदमा गठबन्धनका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गर्नुभएको छ । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गर्नुभएको छ ।
प्रदेश सभाका कुल १ सय ९ जनामध्ये १ सय ६ जनामात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । चुनावमा वाग्मती प्रदेशका १ सय ९ सांसद र स्थानीय तहका १ सय १९ प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।
लुम्बिनीमा पनि पाँच दलीय गठबन्धन विजयी भएको छ । गठबन्धन चार हजार तीन सय ७४ मतसहित विजयी हुँदा एमालेले तीन हजार तीन सय १२ मत प्राप्त गरेको छ ।
गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विक विजयी भएका हुन् ।
एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार पराजित भएका हुन् ।
गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र माओवादीकै भुवनबहादुर सुनार विजयी भएका हुन् । पन्तले खुलामा स्थानीय तहमार्फत १ हजार ६ सय ९२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयो ।
यस्तै अन्य कोटामा आलेमगरले स्थानीय तहमार्फत १ हजार ६ सय ५६ मतभार र प्रदेश सभामार्फत १ हजार ४सय ४० मतभार पाउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहमार्फत १ हजार ३ सय ५० मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ४४ मतभार पाउनुभयो ।
दलित कोटामा सुनारले स्थानीय तहमार्फत १ हजार ६ सय ३८ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयो ।
त्यस्तै कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी हुनुभएको हो । गुरुङले तीन हजार दुई हजार ९ सय ७० मतभार, विष्टले तीन हजार ६ र बोहोराले तीन हजार ६ मतभार ल्याएर विजयी हुनुभएको हो । कर्णालीमा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
एमालेका चुडामणि शर्मा (खुला), गंगा महत (महिला) र पदमबहादुर माझी (अल्पसङ्ख्यक) ले उम्मेदवारी दिनुभएको थियो । चुनावका लागि कर्णालीमा गठबन्धका तीन दल र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो । कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धन गरेका थिए ।
कर्णालीमा राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा १ सय ९१ मतदातामध्ये १ सय ८९ जनाले मत खसालेका थिए ।
उता, सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभार प्राप्त गर्नुभयो ।
महिला खुलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह विजयी हुनुभयो । उहाँले प्रदेश सभातर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ९सय ६२ मतभार प्राप्त गर्नुभयो । उहाँकी प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार १ सय ५२ मतभार प्राप्त गर्नुभयो । यस्तै दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी हुनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका पार्कीले प्रदेशतर्फ १ हजार ८सय ७२ र स्थानीय तहतर्फ १ हजार ८सय ९० मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्द्वी एमालेका नरेश विकले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार २ सय ६ मतभार प्राप्त गर्नुभयो ।