निजगढ,नेपाली सेनाले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणमा थप ढिलाइ हुने संकेत गरेको छ । नेपाली सेनाले खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै यसका कारण प्रगति कमजोर भएको सेनाको दाबी छ ।
आयोजनामा अहिलेसम्म समष्टिगत रुपमा भौतिक प्रगति २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत मात्रै भएको छ । म्याद थपपछि २०८१ मंसिरसम्ममा निर्माण सकाउने लक्ष्य राखेर निर्माण भइरहे पनि प्रगति विवरणअनुसार लक्ष्य पुरा हुने अवस्था देखिंएको छैन । शुरुको लक्ष्यअनुसार काम भएको भए काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को भदौ २०७८ उद्घाटन हुन्थ्यो । तर, निर्माण सकिएर सञ्चालन भइसक्नुपर्ने द्रुतमार्गमा करिब २२ प्रतिशत मात्रै काम सकिएको छ ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गर्दै काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाका प्रमुख विकास पोखरेलले विभिन्न प्रयासहरुका बाबजुद खोकनाको प्रस्थान विन्दु क्षेत्रको मुआब्जा विवादमा ठोस निकास ननिस्किएको बताउनुभयो । प्रक्रियागत जटिलता फुकाउन अन्तर मन्त्रालय सहजीकरणको आवश्यक्ता देखिएको उहाँले बताउनुभयो ।
सेनाले यस बारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसँग अर्को हप्ताबाट छलफल अघि बढाउने पनि जानकारी दिएको छ । चालु आर्थिक वर्षमा २०७९÷०८० को ‘माइलस्टोन’ तय गरिएअनुरुप आगामी फागुनसम्ममा खोकना विवाद समाधान गरी त्यस खण्डको अधिग्रहण हुन बाँकी ४०१ रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
रुख कटान तथा जग्गा अधिग्रहण सम्बन्धी प्रक्रियागत जटिलता कायम हुनुले पनि निर्माण कार्यलाई प्रभावित बनाएको पोखरेलले बताउनुभयो । द्रुतमार्ग आयोजनाको लागि पूर्व सूचना मुताविक हालसम्म ४०१ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको आयोजना प्रमुख पोखरेलले उल्लेख गर्नुभयो ।
आयोजनाको ११ वटा ठेक्का प्याकेजमध्ये हालसम्म सुरुङखण्ड, सडक तथा पुल खण्ड गरी ५ वटा प्याकेजको ठेक्का सम्झौता भएर निर्माण कार्य प्रारम्भ भइसकेको सेनाले बताएको छ ।सेनाले खर्चेको ३४ अर्ब २९ करोड समेत गरी आयोजनामा हालसम्म कुल ३७ अर्ब ९६ करोड ९६ लाख रकम बजेट खर्च भएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ बाट नेपाली सेनाको जिम्मेवारी अन्तर्गत काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको छ ।