पुष्पराज खतिवडा
बारा – जीतपुरसिमरा उपमहानगरपालिका– १८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले भोटेकोशी बाढी तथा विपद् प्रभावितका लागि एक लाख अड्सठ्ठी हजार पाँच सय सहयोग पठाउने निर्णय गरेको छ । आइतबार बसेको संस्थाको सञ्चालक समिति बैठकले रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न शहर तथा गाउँबस्तीमा बाढी र विपत्तिका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै बाढी प्रभावितहरुको राहत, पुर्ननिर्माण र पुर्नस्थापनको लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
विपत्तिमा परेका पीडित मानिसहरुको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ठ रूपमा पठाइने निर्णय भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जनकारी दिनुभएको हो ।
सहकारी संस्थाले उक्त रकम राहत कोष, संचालक समितिको बैठक भत्ता, कर्मचारीहरुको तलब र सदस्यहरुले यस वर्षको तीज पर्वमा दर खाने कार्यक्रमबापतको रकम कट्टा गरेर जम्मा गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
संस्थाको संस्थागत उपसमिति अन्तर समूहहरु उचिडि, जैतापुर, लामिडाँडा, कुस्माडी, रामनगर, बडहर्वा लगायतबाट पनि यस वर्ष तीजमा दर खाने कार्यक्रमको रकम खर्च नगरेर बाढी पीडितहरुको लागि राहतमा दिने सहमति गरेका थिए ।
विपद्को यस कठिन घडीमा पीडितहरुको घाउमा मलम लगाउन सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ ।
यस्तै मंगलबार साँझ संस्थाले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको थियो । २०८३ भाद्र १० गते रसुवा, नुवाकोट र धादिङका विभिन्न महत्वपूर्ण स्थानहरूमा आएको ठूलो विनाशकारी प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका– १८ बडहर्वास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको आयोजनामा सहकारीको कार्यालय अगाडि सडकमा उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका सहभागीहरूले “शोकलाई शक्तिमा, विनाशलाई विकासमा बदलौं“ भन्ने मूल नाराका साथ मृतकहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । विपत्तिबाट प्रभावित परिवारजनप्रति समवेदना प्रकट गर्दै संकटको यस घडीमा सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आह्वान गरिएको थियो ।















