निजगढ,
निजगढस्थित तामागढी वन कार्यालयका तत्कालिन प्रमुख एवंम जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाले जागिरे अवधिमा जोडेको एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ अवैध ठहरिएपछि उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।बाराको निजगढस्थित डिभिजन वन कार्यालय तामागढीको प्रमुख रहेर २०६० सालमा काम समेत गरिसकेका कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति (२०४६ जेठ २ गते) देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरण केलाउँदा एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ बढी देखिएको आयोगको अनुसन्धानले देखाएको छ ।आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार नौ सय ९५६ रुपैयाँ ३१ पैसा कमाएको देखिन्छ ।सोही अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैङ्क मौज्दातसमेत गरी जम्मा दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैंया ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानले देखाएको छ ।

Leave a Reply