काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न माग गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको जानकारी दिनभनुभयो । आफ्ना नेताहरुलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने उहाँले बताउनुभयो ।
बैठकले राजावादी प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालेको छ । शुक्रबारको प्रदर्शनमा सरकार दमन गर्ने योजनाका साथ परिचालित भएको र हिंसा भड्काउन उद्दत रहेको लिङ्देनले बताउनुभयो । शान्तिपूर्ण सभा चलिरहेको स्थानमा सुनियोजित रुपमा अश्रुग्यास प्रहार भएपछि घटना घटेको उहाँको जिकिर छ ।
बैठकले शुक्रबारको घटनामा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्न पनि माग गरेको छ। अध्यक्ष लिङ्देनले सरकारले शुक्रबारको घटनामा सुरक्षा दिन नसकेको धारणा राख्नुभएको थियो । बैठकले यस घटनालाई लिएर पूर्वराजालाई राजनीतिमा तान्ने काम रोक्न पनि अपिल गरेको छ ।

















