मुलुकमा संघीयता ल्याउनका लागि कयौं नागरिकहरुले बलिदान गरेका छन् । कयौं अंगभंग भएका छन् । धेरैको घर उजाडिएको छ तर यत्ति धेरै पीडित भएकाहरुले संघीयताबाट कति फाइदा लिन सके त्यसको त हिसावकिताव नै छैन तर यिनैका कारण आएको संघीयतामा भने केही पक्षले मज्जाले हालीमुहाली गरिरहेको छ । यस्तो लाग्छ कि संघीयता यिनीहरुका लागि नै आएको हो र संघीयताको असली हकदार पनि यिनीहरु नै हुन् । फेरि अर्कोतर्फ यिनैका कारण यो संघीयता पनि आज नराम्रोसंग बद्नाम भइरहेको छ अनि मजाकको विषय बनेको छ ।

यस्तै संघीयतालाई मजाक बनाउने पात्रको रुपमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ देखिएका छन् । बानियाको रवाफले संघीयता एकदिन यो देशका लागि अभिषाप जस्तो हुने देखिएको छ । धेरैले उठाइरहेको संघीयता विरुद्धको आवाजमा समेत बल पुगिरहेको छ ।

पार्टीको एउटा सामान्य कार्यक्रम अझ वनभोज कार्यक्रममा सहभागी हुन जाँदा मुख्यमन्त्री बानियाँ हेलिकप्टरमा हिड्ने गरेको बिहीबार स्पष्ट भएपछि निकै आलोचना भएको छ । वास्तवमा यो जे भनेपनि सुशासन जनता चाहनाको खिल्ली उडाउने कार्य नै हो ।

आफ्नै प्रदेश जलेर खरानी भएको छ । प्रदेशका केही नागरिकहरु अझैपनि पीडामा छन् । दुई छाक खानका लागि समस्या नै छ तर पनि बानियाँ हवाइमा रमाइ रहेका छन् ।जेनजी आन्दोलनताका जलेको बागमति प्रदेश उठ्न सकिरहेको छैन । प्रदेश सभाको बैठक बस्न सकिरहेको छैन । जलेका सयौं संरचनाहरुले गिज्जाइरहेका छन् अनि यस्तोमा निजी खर्चमा भएपनि यस्तो हर्कत गरिनु के ठीक हो र ? अनि काम धन्दा केही नहुनेको यस्तो खर्च गर्ने हैसियत कसरी भयो ? यो पनि अहम प्रश्न बनेको छ ।

 

Leave a Reply