काठमाण्डौ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पारित भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौँ । बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।’यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औँ महाधिवेशनका प्रतिनिधिलाई तयारीमा बस्न आग्रह गर्नुभएको छ ।
यस्तै बैठकले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थपको निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो ।आजको बैठकमा महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६–२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो ।तर उक्त निर्णयसहितको तालिका सबै प्रभावित भएको थियो ।
















