मकवानपुर । मकवानपुरको भैंसेमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ। कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद भए पनि चालक भने प्रहरीको घेरा छल्दै फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १ः४० बजे भैंसे चेकपोस्टमा नियमित सवारी जाँचका क्रममा गाँजा बरामद भएको हो।
पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा।अ।ब। ४४३१ नम्बरको कारलाई प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले रोकेर जाँच गर्न खोजेको थियो। तर, चालकले ‘केही छैन सर’ भन्दै प्रहरीलाई झुक्याएर कारसहित फरार भएका थिए।
त्यसपछि प्रहरीले कारको पछाडिको डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी नौ वटा पोकामा लुकाएर राखिएको ११७ किलो ९१० ग्राम गाँजा फेला पारेको थियो।
प्रहरीले कार र बरामद गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर राखेको जनाएको छ।
फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

















