निजगढ,साझा सहकारी संस्था लिमिटेड निजगढको ३१ औं साधारण सभाले नयाँ कार्यसमिति चयनको लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निजगढ ७ स्थित शुभकार्य बैङ्गकुट सभा हलमा शुक्रवार भएको साधारण सभाले निजगढ नगरपालिकाका सहकारी विभाग प्रमुख वा प्रतिनिधि संयोजक रहने गरी सगरमाथा सहकारी संस्था निजगढ ७ का अध्यक्ष भोलाप्रसाद गौतम र ललितबहादुर राउत सदस्य रहेको निर्वाचन समिति गठन गरेको हो ।नयाँ कार्यसमितिका चयन गर्न भनेर आयोजना भएको सभामा सहमति हुन नसकेपछि मतदानमार्फत पदाधिकारी छनौट गर्न निर्वाचन समिति गठन गर्ने निर्णय गरेको सहकारी संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईले जानकारी दिनुभयो । समितिलाई आगामी बैशाख १५ गतेभित्र संस्थाको नयाँ कार्यसमिति चयन गर्न र सोको लागि नामसारी गर्न चाहने शेयर सदस्यहरुको नामसारी गर्न साधारण सभाले आगामी चैत्र १५ सम्मको समय सीमा दिएको छ ।

सभामा कोषाध्यक्ष स्वर्गीय सन्तबहादुर राउतको तर्फबाट संस्थाका सचिव केदार गौतमले प्रस्तुत गर्नुभएको लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईको अध्यक्षतामा भएको सो साधारण सभामा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, संस्थाका उपाध्यक्ष ज्ञानेन्द्र चौलागाई, सचिव केदार गौतम, निजगढ नगरपालिकाका पूर्वप्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लिलादेबी लामिछानेलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र शेयर सदस्यहरुले आआफ्नो धारणा राखेका थिए ।निजगढको सबैभन्दा पूरानो सहकारी संस्थाको रुपमा रहेको साझा सहकारीमा ३ सय ८८ जना साधारण सदस्यहरु रहेका छन । साझा सहकारी संस्थाको रुपमा स्थापना भएको सो संस्था नेपाल सरकारको निर्णय अनुसार ०५० सालमा सहकारी संस्थामा परिणत भएको थियो ।

Leave a Reply