काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायर खेलमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। फाइनल प्रवेशका लागि दुवै टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो।

त्रिवि क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुने खेलमा जित हात पार्ने टोलीले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशको अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो। लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम यसपटक पनि फाइनल पुग्ने लक्ष्यमा छ।

यता, एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा पुगेको हो। चितवन पहिलो पटक यस चरणमा पुगेकाले टोलीका लागि यो खेल विशेष अवसर बनेको छ।

एनपीएलको पहिलो संस्करणमा प्लेअफसम्म पुगेको चितवन एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो। दोस्रो संस्करणमा भने टोली सातौँ स्थानमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो।

यसपटक उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो क्वालिफायरसम्म आइपुगेको चितवन पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ। अर्कोतर्फ, अनुभवी सुदूरपश्चिम आफ्नो लगातार तेस्रो फाइनल यात्राको खोजीमा हुनेछ।

आजको प्रतिस्पर्धाले एनपीएलको फाइनलमा लुम्बिनी लायन्सको प्रतिद्वन्द्वी टुंगो लगाउनेछ।

Leave a Reply