राजन कुमार बानिया
पोखरिया,पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा सक्रिय नेता टेकबहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विधिवत रूपमा प्रवेश गर्नुभएको छ ।तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका शाक्यलाई रास्वपाले पर्सा– ४ बाट उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्राका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शाक्यलाई सो क्षेत्रका लागि प्रतिनिधि सभाको उम्मेदवार (सम्भावित) को रूपमा अघि बढाउने निर्णय गरेको छ । यस विषयमा प्रतिक्रिया दिँदै शाक्यले आफू पर्सा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएर चुनाव लड्ने स्पष्ट पार्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य नन्दन यादव र पर्सा जिल्ला अध्यक्ष हरि पन्तले स्वागत गर्दै शाक्यलाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा– ४ मा संगठन सुदृढ गर्दै नयाँ नेतृत्व अघि सार्ने रणनीतिअन्तर्गत शाक्यलाई उम्मेदवार बनाउन लागिएको बताइएको छ । शाक्यको प्रवेशसँगै पर्सा– ४ मा रास्वपाको राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

Leave a Reply