कलैया । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ ।सोमवार कलैयामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले तोकिएको मापदण्ड अनुसार नगरका २७ वटै वडामा लक्षित वर्गलाई खोप लगाइएपछि उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले नगरमा जन्मदेखि ११ महिनासम्मका २ हजार नौ सय १६, त्यस्तै १ वर्षदेखि २३ महिनासम्मका २ हजार आठ सय २७ र १५ महिनादेखि २३ महिनासम्मका १ हजार आठ सय ५६ बालबालिकाहरूलाई सम्पूर्ण खोप लगाई पूर्ण खोप सुनिश्चितता भएको बताउनुभयो । उहाँले आगामी दिनहरूमा खोप लिनबाट कोहि पनि बञ्चित नहुने व्यवस्था मिलाइने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, २७ वटै वडाका अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव, स्वास्थ्य शाखा प्रमुख अजय जयसवाल, २७ वटै वडामा रहेको स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो ।

















