काठमाण्डौ – इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपचुनावको मतदानमा झन्डै ५७ प्रतिशत मतदान भएको छ ।शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा झन्डै ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । इलाम–२ मा मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ रहेको छ ।मतदानको समय सकिएसँगै अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ । मतपेटिका मतदान केन्द्रबाट सिधै इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा लगिनेछ । आजै रातिदेखी मतगणना शुरु गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।
इलाम– २ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ शनिवार उपचुनाव भएको हो ।
बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
काठमाण्डौ – बझाङको प्रदेश सभा १ (क) मा सम्पन्न उपचुनावमा ५० प्रतिशतको हाराहारीमा मतदान भएको छ ।
शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ५० प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकारी सुदर्शन लामिछानेले बताउनुभयो । बझाङ प्रदेश सभा १ (क) मा मतदाताको सङ्ख्या ६१ हजार सात सय ४८ रहेको छ ।

बझाङमा मतदान केन्द्रहरू दुर्गम स्थानमा पनि रहेकाले मतपेटिका ढुवानीमा समय लाग्ने भएकोले भोलि बिहानसम्म मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठकबाट निर्णय गरेर गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो ।यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा ज्यान गएपछि त्यहाँ उपचुनाव भएका हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here