कृष्ण मोहन साह
सेढवा,अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा पर्साका विभिन्न पर्यटकीय स्थलमा वनभोज खाने स्वदेशी तथा बिदेशी नागरिकहरुको भिड लागेको छ ।ठोरी गाउँपालिकामा पर्ने राई धारा, रानीवन इच्छानगर, चौताराको बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाडा, सितागुफा, सेतो पहाड, सिनही पर्बतराई, ठुटे खोला, बाघमोर्चामाई मन्दिर परिसर, गडुवालाईन क्षेत्रमा बिहानदेखि साँझसम्म नेपाली तथा भारतीय नागरिकहरुको भिड लागेको हो ।
सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार विगतमा दुई सातादेखि ठोरीमा आउने आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढेको बताउनुभयो । जनवरी एक तारिखका दिन करिब एक लाखभन्दा बढि आन्तरिक तथा बाह्य ठोरीमा नया वर्ष मनाउन आएको पौडेलले जानकारी दिनुभयो । ्
विगतका वर्षभन्दा यस वर्ष ठोरीमै बास बस्ने पर्यटकहरूको संख्यामा बृद्धि भएको पौडेलले बताउनुभयो । नेपालको मधेस र बागमती प्रदेशका साथै भारतको बिहार र उत्तर प्रदेश राज्य तथा दिल्लीसम्म पर्यटकहरु ठोरीमा नयाँ वर्ष मनाउन आउने गरेका छन ।त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जंगल, सब डिभिजन वन कार्यालय बसन्तपुरको वन क्षेत्र, जिराभवानी गापा अन्तर्गत सुगीभार मन्दिर परिसरमा नयाँ बर्ष मनाउन तथा वनभोज खानेको भिड लागेको थियो ।
त्यस्तै पटेर्वासुगौलीमा पर्ने गादीमाई मन्दिर, भुमरी माई पिकनिक स्पोर्ट रंगपुर, पर्सागढी नगरपालिकामा पर्ने कोइलाभारमाई मन्दिर र आमोदेवीमाई मन्दिरमा पनि पिकनिक खाने र रमाउनेहरुको बाक्लो उपस्थिति रहेको थियो । पर्यटकहरुले खाने पिउने तथा डिजे बजाएर रमाइलो गर्ने हुँदा यी क्षेत्रको माहोल नै रमणीय भएको स्थानीयले जनाएका छन ।
फस्ट जनवरी मनाउन विभिन्न उमेर समूहका मानिसहरुको वनभोज खान बिहानैदेखि लर्को लागेको थियो । ग्रामीण भेगको हुलाकी सडकमा आवागमन गर्ने यात्रीको संख्या निकै बृद्धि भएको थियो ।
ट्याक्टर, कार, जीप, मोटरसाइकल तथा साइकलमा सवार भएर उनीहरु वनभोज खान जम्मा भएका थिए । अत्यधिक जाडोका कारण पर्साका सबै विद्यालयहरुमा बिदा भएकोले विद्यार्थीहरु पनि नयाँ वर्ष मनाउने उद्देश्यले वनभोजमा आएका थिए ।



















