निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको साधारण सभामा नयाँ कार्यसमिति छनौंटमा सहमति हुन नसकेपछि मतदानमार्फत पदाधिकारी र सदस्यको चयन हुने भएको छ । हिजो भएको छैठौं साधारण सभाको बन्द सत्रमा समूहको अध्यक्ष लगायत अन्य पदमा दर्जनौंले दाबी गरेपछि मतदानबाट नयाँ कार्यसमिति चयन हुने अवस्था देखिएको हो । अध्यक्ष मण्डलले हिजो नै सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम बनाएको भएपनि सहमति जुटन नसकेपछि निर्वाचन हुने अवस्था आएको अध्यक्ष मण्डलका संयोजक रामजी बजगाईले बताउनुभयो । १ जना अध्यक्ष पदको लागि मात्रै ८ जनाको दाबी परेको उहाँले जानकारी दिनुभयो ।

उहाँले सहमतिको लागि फेरि पनि एक हप्ताको समय दिइएको उक्त समयमा पनि टुङ्गो लाग्न नसके मतदानमार्फत नयाँ कार्यसमितिको चयन गरिने बताउनुभयो । नयाँ कार्यसमिति निर्वाचनको लागि जिल्ला अध्यक्ष बजगाईको संयोजकत्वमा सब डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल, निजगढ नगरपालिकाका वन तथा वातावरण इकाइका अधिकृत अनिल कोइराला, निजगढ वडा नम्बर ९ की वडा समिति सदस्य बबिता श्रेष्ठ, निजगढ ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष गणेश भण्डारीसहित ५ सदस्यीय अध्यक्ष मण्डलको चयन गरिएको छ । निजगढ ९ को नदीकट्टस्थित बाक्यश्वर महादेव मन्दिर परिसरमा भएको साधारण सभाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सामाजिक संघसंस्थामा बस्ने अगुवाहरुले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नसक्नुपर्ने बताउनुभयो ।समूहका अध्यक्ष प्रदीप उप्रेतीको अध्यक्षतामा भएको साधारण सभाको उद्धाटन कार्यक्रममा समूहकी सचिव एवंम जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, सब डिभिजन वन कार्यालय निजगगढका रेञ्जर पोखरेललगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।साधारण सभाले समूहको उन्नति र वन संरक्षणमा योगदान दिने नगर प्रमुख सुरथ पुरीलगायत दर्जनभन्दा बढीलाई कदर पत्रले सम्मान गरिएको थियो ।

















