सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर १ निवासी प्रदिप कुशवाहाले अत्याधिक ध्वनी प्रदुषण गरेर डिजे साउण्ड बजाउने स्थानीय टेन्ट हाउस र डान्स पार्टीका मालिक र धार्मिक समूहविरुद्ध प्रहरी चौकी च्युटाहामा उजुरी दिनुभएको छ ।

सामाजिक अभियान्ता कुशवाहाले स्थानीय हरिओम टेन्ट हाउसका विरेन्द्रप्रसाद कुशवाहा, रानी टेन्ट हाउसका पवनकुमार साह र हिरामान ठाकुर तथा अर्का एकजना नाम थर खुल्न नसकेको डान्स पार्टी संचालक विरुद्ध कानुनी कारबाहीको माग गर्दै सोमवार प्रहरीमा उजुरी दिनुभएको हो ।

टेन्ट हाउस संचालक तथा शिवचर्चा समूहले प्रतेक दिन साँझदेखि राति अबेरसम्म विवाह र पूजापाठ कार्यक्रमको नाममा चर्को अवाजमा माइक बजाएर ध्वनी प्रदुषण गर्दैआएकाले स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पारेको र विभिन्न प्रकारका दीर्घरोगको संक्रमणको खतरासमेत बढेको कुशवाहाले दिएको उजुरीमा उल्लेख छ । ‘ध्वनी प्रदुषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको र विद्यार्थीहरुको अध्ययनमासमेत अवरोध सृजना भएको छ ।’ निवेदनमा भनिएको छ ।
त्यसैगरी उजुरीमा अगाडि भनिएको छ– ‘शादी, विवाह र पूजाहरुमा रेडियो बजाउने समाजिक प्रचलन भएपनि आवश्यकता अनुसारमात्र बजाउन बारम्बार आग्रह गर्दासमेत केही दिनयता ठुलाठुला हर्न जडान गरेर राति ११-१२ बजेसम्म ध्वनी प्रदुषण गर्ने गरिएको छ ।’ डिजे मालिकहरुले चर्को श्वरमा अश्लिल भोजपुरी गीतहरु बजाउने जस्ता कार्य गरेको र सो कार्य प्रचलित कानुन बामोजिम समाजिक अपराध भएको हुनाले निज विपक्षीहरुलाई बोलाएर सम्झाई बुझाई गरी यस्तो गैरसामाजिक क्रियाकलाप रोक्न कुशवाहाले माग गर्नुभएको छ ।

कुशवाहाले स्थानीय क्षेत्रमा हुदैआएको विकृति र विसंगति विरुद्ध लामो समयदेखि अभियान चलाउदै आउनुभएको छ । उहाँले यसअघि पनि डिजे साउण्ड नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यलय कलैयामा जाहेरी दिनुभएको थियो । तर प्रहरीले कुनै कारबाही नगरेपछि कुशवाहाले फेरि किटानी उजुरी नै दिनुभएको हो ।

Leave a Reply