वीरगञ्ज,पर्साको बहुदरामाई नगरपालिका २ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायमाथि भएको आगजनी र कुटपिट घटनाको राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ ।आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्य तथा मधेस प्रदेश संयोजक सुन्दर पुकुर्टीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो । अनुगमन टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गरी घटनाको विस्तृत जानकारी लिएको छ ।
पीडित भागरित पासवानका अनुसार निजी नम्बरी जग्गामा बाटो दिन अस्वीकार गरेकै कारण विपक्षी समूहले पेट्रोल छर्केर घरमा आगजनी गर्नुका साथै उहाँकी श्रीमती मिना देवीमाथि कुटपिट गरेका थिए । आगलागीबाट घरभित्र रहेको अन्न, नगद, गरगहना, कपडा तथा घर संरचनामा समेत गरी लाखौं रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
अनुगमनपछि आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायमाथि भएको यस प्रकारको हिंसा गम्भीर र निन्दनीय रहेको बताउँदै दोषी जो कोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पीडित परिवारको सुरक्षा, उपचार र क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ ।त्यसैगरी आयोगका सदस्य तथा मधेस प्रदेश संयोजक सुन्दर पुकुर्टीले घटनाले समाजमा अझै जातीय विभेद कायम रहेको स्पष्ट देखाएको बताउनुभयो । यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उहाँले प्रहरी र प्रशासनलाई निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गर्नुभयो । आयोगले पीडितलाई न्याय दिलाउन सबै तहमा पहल गर्ने र घटनाको अनुगमन निरन्तर गर्ने जनाएको छ ।दलित अभियन्ता मनोज रामको पहलमा आयोगको टोली घटनास्थल पुगेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















