
कलैया,बाराको पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन् ।
पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिनुभएको हो । किराना पसलको व्यवसाय गर्दै आएका अंसारीले मंसिर १६ गते चार लाख २५ हजारमा सुन भनेर १०-१० ग्रामको पाँच वटा बिस्कुट खरिद गर्नुभएको थियो ।सुन भनेर किनेको उक्त बिस्कुट गहना बनाउन खोज्दा पित्तल निस्किएपछि अंसारी न्याय खोज्दै प्रहरी कार्यालय पुग्नुभएको हो । यादवले ठगीमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउन आग्रह गर्नुभएको छ । अंसारीले प्रहरीमा दिएको जाहेरीमा बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा बस्ने ४० वर्षीय विनय थारु चौधरीसंग उक्त धातु खरिद गरेको उल्लेख गर्नुभएको छ । थारुले पसलमै आएर आफूसंग १०÷१० ग्रामको सुनको पाँच वटा बिस्कुट रहेको र पैसाको खाँचो परेको हुँदा मिलाएर दिने बताएपछि आफूले उक्त धातु खरिद गरेको अंसारीको भनाई छ ।आफ्नो चिनजानका महागढीमाई नगरपालिका वडा नम्बर ९ का राजेन्द्र महतोले थारुसंग आफूलाई भेट गराएको र सोही भेटमा थारुले आफूलाई सुन भनेर उक्त धातु बेचेको जानकारी अंसारीले प्रहरीलाई दिनुभएको छ । आफू ठगिएको जानकारी पाएपछि अंसारीले चौधरीविरुद्ध ठगी मुद्धा दर्ता गराउनुभएको हो ।बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले सुन भनेर पित्तल खरिद गर्न पुगेको विषयलाई लिएर प्रहरीमा उजुरी परेको बताउनुभएको छ । उपरीक्षक काफ्लेले उक्त धातु सुनजस्तो नदेखिए पनि जाँचका लागि पठाइने बताउनुभयो ।


















