रौतहट,रौतहटको गरुडा नगरपालिका– १ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई एक १६ वर्षीय छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा निष्कासन गरिएको छ ।गत असार २९ उनले जन्मदिनको शुभकामना दिनेक्रममा छात्रालाई मोबाइलमा ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि विवाद उत्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको विद्यालयका पूर्व अध्यक्ष राजकुमार दासले बताउनुभयो ।
छात्राका अभिभावकहरूले दिएको उजुरी अनुसार, ४९ वर्षीय साहले विगत एक वर्षदेखि यौनजन्य मनसायले छात्रालाई सन्देश पठाउँदै आएका थिए ।साहले कक्षा ७ सम्म अङ्ग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए । सन्देश सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले कुटपिट र तोडफोडको प्रयास गरेपछि प्रहरीले उनलाई सोही दिन नियन्त्रणमा लिएको थियो ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले साहविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्यादसहित अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

















