वीरगञ्ज,रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ स्थित इनरवारी स्वास्थ्य चौकीमा एक नवजात शिशुको मंगलवार बिहान मृत्यु भएको हो ।

जन्मिएको करिब २ घण्टामै नवजात शिशुको मृत्यु भएको शिशुका बुबा गौरीशंकर पटेलले बताउनुभयो । उनी बौधीमाई नगरपालिकाको वडा नम्बर ४ निवासी हुन् । उहाँका अनुसार मंगलवार बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीमा छोरीको जन्म भएको थियो ।

बर्थिङ सेन्टरमा जन्मिएको केही समयपछि शिशुको मुटुको चालमा समस्या आउँदा थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो । उपचारका लागि वीरगञ्ज ल्याउने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा पनि ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले बताउनुभयो ।
उहाँका अनुसार बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरुलाई शंका लागेर थप उपचारका लागि वीरगञ्ज पठाउने सल्लाहा भएको थियो । उहाँले अस्पतालमा एउटा मात्र एम्बुलेन्स उपलब्ध रहेको र हतारहतारमा राम्ररी नबुझी लैजादा उक्त एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास सकिएको पाइएको हो । जस कारण बीच बाटोमा बच्चाको मृत्यु भएको हो ।
बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा अक्सिजन सिलिन्डरमा ग्यास अभाव नभएको प्रतिक्रिया दिनुभयो । बच्चालाई थप उपचारका लागि लैजाने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको उहाँले बताउनुभयो ।बिहान करिब ५ बजे नवजात शिशुलाई वीरगञ्जको तराई अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

 

Leave a Reply