बारा,मधेश प्रदेशका प्रदेशसभा सदस्य (सांसद्) प्रमोद जयसवालका सवारी चालक सलिम मियाँ अन्सारी पक्राउ परेका छन् ।गत पुष ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न भएको आरोपमा प्रदेश सांसद् जयसवालका सवारी चालक अन्सारी पनि पक्राउ परेका हुन् ।अन्सारीलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कार्यालयका सूचना अधिकारी सूर्य खडकाले जानकारी दिनुभयो । चोरी शिकारी घटनामा संलग्न रहेको आरोप लागेका मधेस प्रदेश सांसद् जयसवाल बयानको लागि मङ्गलबार निकुञ्ज कार्यालय आदाभारमा पुगेको बेला चालक अन्सारीलाई नियन्त्रणमा लिइएको खडकाले बताउनुभयो । ‘घटनामा चालक अन्सारीको पनि संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको हो, सूचना अधिकारी खडकाले भन्नुभयो, चालक अन्सारीलाई हिराशतमा राखेर थप अनुसन्धान भइरहेको छ ।’ मधेस प्रदेश सभा सांसद् जयसवाललाई भने बयानपछि बोलाएको बखत उपस्थित हुने गरी छाडिएको निकुञ्जले जनाएको छ ।गत पुष ५ गते सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकवनियास्थित जयसवालको बाख्रापालन फर्ममा छापामारी गरेर निकुञ्जका सुरक्षाकर्मीले ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी, काभ्रे साँगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई मृत हरिण, अवैध हातहतियार, वन्यजन्तु चोरीशिकारीमा प्रयोग हुने उपकरण र केही नगदसहित पक्राउ गरेको थियो ।छापामारीका क्रममा बा ५ च ७८०५ नम्बरको टोयोटा ल्यान्डक्रुजर जीप, प्रदेश २-०३-००१ च ३०९७ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जीपसमेत बरामद गरिएको थियो । सिकारका लागि प्रयोग गरिएको बरामद बोलेरो जीप प्रदेश सांसद् जयसवालको नाममा रहेको व्यापारिक फर्मको नाममा दर्ता रहेको छ ।
Home मुख्य समाचार निकुञ्जको चोरीशिकारी प्रकरण : प्रदेश सांसद् जयसवालका सवारी चालक अन्सारी पनि पक्राउ
















