कलैया,नेकपा एमाले बाराको अध्यक्ष पदमा अध्यानन्द पाण्डेय बिजयी हुुनुभएको छ । नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनमा भएको मतदानमा प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै पाण्डे अध्यक्षमा निर्वाचित हुुनुभएको हो ।

अध्यक्ष पाण्डेले ३ सय ७७ मत पाउँदा सुवेदीले ३४३ मत पाउनुभएको थियो । नेकपा एमाले बाराको कुल ८३३ मतदातामध्ये निर्वाचनमा ७२० जनाले मतदान गरेका थिए ।जिल्ला कार्यसमितिका पदाधिकारी सर्वसम्मत चयन गर्न भएको लामो प्रयास विफल बनेपछि शनिवार साँझबाट मतदान शुरु भएको थियो । निवर्तमान उपाध्यक्ष सुवेदी र निवर्तमान सचिव पाण्डेय प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका थिए । तर अध्यक्ष बाहेक अन्य पदाधिकारीमा भने सुवेदीको प्यानल नै निर्वाचित भएको छ ।\

सुवेदी प्यानलबाट उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव विजयी भएका छन । पाण्डेय समुहका उपाध्यक्ष नारायण गौतमले ३४० मत ल्याउदा सुबेदी प्यानलका भुलन चौधरीले ३६४ मत ल्याएर विजयी बन्नुभएको छ ।
त्यसैगरी सचिव पदमा सुवेदी प्यानलका अमृत शर्मा बजगांई बिजयी हुनुभएको छ । बजगाईले ३६३ मत ल्याउदा प्रतिस्पर्धी एम.समिउल्लाहले ३२६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपसचिव खुल्लामा सुवेदी प्यानलकै जवाहिर अन्सारी विजयी बन्नुभएको छ । अन्सारी ३५७ मतका साथ विजयी बन्नुभएको हो भने उहाँका प्रतिस्पर्धी धनिराम चौधरीले ३४१ मत ल्याउनुभएको छ ।पदाधिकारीतर्फ महिला उपसचिवमा भने भावना आचार्य विजयी हुनुभएको छ । आचार्यले ३६८ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी कमला घिमिरेले ३२५ मत प्राप्त गर्नुभयो ।

जिल्ला कमिटीका अन्य सदस्यहरुको मत गणना गर्न भने बाँकी रहेको छ । सदस्यमा पालिका र समावेशी तर्फको मत गणना सोमवार बिहानदेखि गरिनेछ निर्वाचन कमिटीका प्रमुख अधिकृत साविर अन्सारीले जानकारी दिनुभयो ।
निर्वाचनबाट ५ जना पदाधिकारीसहित १२५ जना जिल्ला कमिटी सदस्य चुनिनेछन । सिम्रौनगढ, महागढीमाई नगरपालिका लगायत ८ वटा पालिकाकाबाट चुनिने सदस्यहरु भने यसअघि नै सर्वसम्मत चयन भइसकेका छन ।

Leave a Reply