सिमरा,बाराको जीतपुरसिमरा २ स्थित जगदम्बा स्टील्स उद्योगले अघिल्लो आर्थिक वर्षको बोनस रकम हालसम्म उपलब्ध नगराउँदा उद्योगमा कार्यरत दुई सय २५ जना मजदुरले आन्दोलन गर्ने भएका छन् ।

लामो समयदेखि बोनसको माग गर्दै आएका मजदुर उद्योग प्रशासनको उदासीनतापछि संघर्षमा उत्रिन लागेका हुन् ।
बोनस रकम उपलब्ध गराउने विषयमा उद्योग प्रशासन र मजदुर प्रतिनिधिबीच पटकपटक सम्झौता भएपनि कार्यान्वयन नभएपछि आन्दोलनको विकल्प नरहेको मजदुरको भनाई छ । मजदुरहरूले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी उद्योग प्रशासनले आफूहरूलाई पीडित बनाएको गुनासो समेत गरेका छन् ।स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा बोल्दै उद्योगको आधिकारिक ट्रेड युनियनका सचिव दीपक कार्कीले अघिल्लो आर्थिक वर्ष २०८१-८२ को बोनस हालसम्म नपाएको बताउनुभयो । उहाँका अनुसार बोनस उपलब्ध गराउने सहमति भए पनि तीन महिनादेखि उद्योग प्रशासन सम्पर्कविहीन बनेको छ ।

‘हामीले वर्षेनी पाउँदै आएको बोनस रकम अघिल्लो वर्षदेखि पाउन सकेका छैनौं’ कार्कीले भन्नुभयो, ‘बोनस रकम उपलब्ध गराउने विषयमा पटकपटक ताकेता गर्यौ, तर प्रशासनले आवाज सुनेन र सम्बन्धित निकायले समेत चासो नदिँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।’मजदुरहरूको भनाईमा उद्योगले उनीहरूको श्रमको उचित मूल्यांकन नगरी अन्याय गरिरहेको छ । बोनस मजदुरको कानुनी अधिकार भएको र मेहनतको प्रतिफलस्वरूप पाउनुपर्ने रकम उद्योगले रोकेर राख्नु अमानवीय व्यवहार भएको उनीहरूको आरोप छ ।

सचिव कार्कीका अनुसार बोनस उपलब्ध गराउने विषयमा उद्योग प्रशासन र मजदुर प्रतिनिधिबीच औपचारिक सम्झौता समेत भएको थियो ।उहाँका अनुसार पटकपटकको संवादपछि अन्तिमपटक एक सय २५ दिनको बोनस रकम उपलब्ध गराउने सहमति भएको थियो । ‘हामी सहमतिअनुसार बोनस आउने आशामा बस्यौं’ कार्कीले भन्नुभयो ‘तर २०८२ असोज ५ गतेपछि प्रशासन शाखाका कर्मचारी, उद्योग व्यवस्थापक र संचालक कोही पनि उद्योगमा आएनन् । यस्तो अवस्थामा हामी कहाँ जाने ?’

Leave a Reply