कलैया,पर्सा प्रहरीले जेन–जी आन्दोलनका क्रममा केन्द्रिय कारागार काठमाण्डौबाट फरार भएका बाराका दुई जना कैदीहरुलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला बारा विश्रामपुर गाउँपालिका ५ का २५ वर्षीय सुदामा पासवान र परवानिपुर गाउँपालिका २ का ३२ वर्षीय विवेकलाल साह कानु रहेका छन् ।
प्रहरीले पासवानलाई मंगलवार राति लुकीछिपी बस्दै आएको अवस्थामा वीरगञ्ज महानगरपालिका १५ भिष्वाबाट पक्राउ गरेको हो । पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद भुक्तान गरिरहेका थिए । भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए ।यसैगरी अर्का फरार कैदीबन्दी कानुलाई प्रहरीले मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका ४ विर्ता टोलबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
कानु बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको हेटौडा इजलासको आदेशअनुसार ५० हजार रुपैयाँ धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका थिए । उनी भदौ २४ गते आन्दोलनका क्रममा फरार भएका थिए ।
पक्राउ परेका दुवै जनालाई वीरगन्ज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।


















