रौतहट,रौतटहको बृन्दावन नगरपालिका ९ भुसाहा टोलमा १८ वर्षीया बुहारीको हत्या गरी शव घरभित्रै गाडेको अभियोगमा पक्राउ परेका दुई जनालाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

अदालतले ७५ वर्षीय शेख महमद अली र उनका सहोदर दाइ शेख आश महमदलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनीहरू मृतक तरिमा खातुनका ससुरा पक्षका सदस्य हुन् । तरिमा खातुन गत मंसिर ८ गते रातिदेखि बेपत्ता भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८२ मंसिर ९ गते बिहान करिब ८ बजे गुजरा नगरपालिका ७ का शेख ताज महमदले आफ्नी छोरी तरिमा खातुन ससुराली पक्षबाट लामो समयदेखि शारीरिक तथा मानसिक यातना भोग्दै आएको र मंसिर ८ गते रातिदेखि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले तरिमाको ससुराली घरमा खोजतलास सुरु गरेको थियो । खोजीका क्रममा घरका सदस्यहरू अनुपस्थित देखिनुका साथै घरभित्र शंकास्पद अवस्था भेटिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा घरभित्रै जमिन खनजोत गरिएको स्थान फेला परेपछि उत्खनन गर्दा करिब पाँच फिट तल बोरा पोको पारिएको अवस्थामा तरिमा खातुनको शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका ससुरा शेख महमद अली र उनका सहोदर दाइ शेख आश महमदलाई मंसिर १० गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले मंगलबार सुनुवाइपछि दुवै प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

Leave a Reply