वीरगञ्ज,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउनभित्रै प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले साउनभित्रै नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको हो ।त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआईकनै स्नातक तह प्रथम वर्षमा भर्ना खुलाइसकेको छ । विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो ।बोर्डले त्रिविले आफूहरूसँगको समन्वयमा भर्ना खुलाएको स्पष्ट पारेको छ । अध्यक्ष शर्माले भन्नुभयो, ‘१२ को परीक्षाफल यसै महिना सार्वजनिक गर्ने र स्नातकमा भर्ना खुलाउने विषयमा त्रिवि र बोर्डबिच समन्वय भएको छ । त्यसैले नतिजा आउने बित्तिकै विद्यार्थीले स्नातकमा भर्ना गर्न पाइहाल्छन् ।’कक्षा १२ को गत वैशाख÷जेठमा सञ्चालित परीक्षामा साढे चार लाखभन्दा बढी विद्यार्थी सहभागी थिए ।त्रिविले जारी गरेको सूचनामा सबै सङ्काय, अध्ययन संस्थान, क्याम्पसमा भर्नाका लागि साउन २८ गतेदेखि भदौ मसान्तसम्ममा आवेदन दिन सकिने उल्लेख छ ।


















