स्थानीय सरकार नागरिकहरुको सरकार हो । यहाँ असुलिने राजश्व सही ठाउँमा सदुपयोग गरियो भने यसले स्थानीय तहलाई नै फाइदा हुने हो तर निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेकोे सडक मर्मतसम्भार र सुरक्षाको लागि कलैया उपमहानगरपालिकाले अघिल्लो आठ वर्षमा करोडौं रुपैयाँ खर्च गरेको पाइएको छ ।

सडक निर्माणको जिम्मा लिएको सप्तकोशी जलाधार—ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंले समयमै निर्माण कार्य पूरा नगर्दा उपमहानगरपालिकाले बार्षिक लाखौं रुपैया खर्च बेहोर्नु परेको हो ।विशेषगतः कलैयाको मटिअर्वा– मानमत क्षेत्रको करिब साढे तीन किलोमिटर अधुरो सडकमा धुलो र हिलो नियन्त्रण र खाल्टाखुल्टी पुर्न नगरपालिकाले आफ्नै स्रोतबाट रकम खर्च गर्दैआएको छ तर अधुरो सडकको धुलो नियन्त्रण गर्न ट्यांकरले दैनिक पानी छर्किने, खाल्डाखुल्डीमा माटो भर्ने, ग्राभेल हाल्ने काम गर्दै आएको उमहानगरपालिकाले यो अवधिमा मासिक करिब सात सय लिटर डिजेल खर्च गरेकोे र वार्षिक करिब १५ लाख रुपैयाँ खर्च भइरहेको जनाएको छ । कार्यालयका अनुसार आठ वर्षको अवधिमा उपमहानगरपालिकाले सो सडकमा करिब एक करोड रुपैयाँ खर्च गरिसकेको छ ।
तर, सडक निर्माण गर्ने कम्पनीले काम अलपत्र राखेका कारण सडक अझै पूर्णरूपमा निर्माण हुन सकेको छैन ।
उपमहानगरपालिकाले नगरवासीको दबाब र सडकको दैनिक प्रयोगको आवश्यकतालाई मध्यनजर गर्दै मर्मत जारी राख्ने जनाएको छ । करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८ मा २२ करोड ३१ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो ।१ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेक्का सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद ४ चैत २०८२ मा सकिँदैछ । सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ ।
यसरी अनावश्यक स्थानमा रकम खर्च भयो भने यसले राजश्वको मात्र क्षति हुँदैन नगरवासीले तिरेको करको पनि अवमुल्याङ्कन हुन्छ । अब यस्तो बद्मासी गर्ने ठेकेदारलाई कारबाही गर्ने हिम्मत आवश्यक छ ।
















