वीरगञ्ज,बाराको परवानीपुर गाउँपालिकामा गाउँपालिका प्रहरीले अनुमति बिना घरमा प्रवेश गरी खानतलासी गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।आक्रोशित स्थानीयहरूले सोमबार गाउँपालिका कार्यालयअगाडि टायर बालेर प्रदर्शन गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
परवानीपुर– ३ का स्थानीय राजेश यादवको घरमा कोही नभएको बेला गाउँपालिकाको प्रहरीले नेपाल प्रहरीसँग मिलेर वैधानिक प्रक्रिया बिना नै घर खानतलासी गरेको स्थानीयको आरोप छ । केही दिनअघि भएको साइकल चोरीको घटनालाई आधार बनाएर शङ्काको भरमा यस्तो कार्य गरिएको उनीहरूको भनाई छ ।

उनीहरूले गाउँपालिका अध्यक्ष रामक्षेत्री पटेललगायत जनप्रतिनिधि र कर्मचारीहरूले घटनाको बारेमा क्षमा मागेर स्पष्टीकरण दिनुपर्ने माग राखेका छन् । आफूहरूको न्याय नपाएसम्म गाउँपालिकाको कार्यालयमा तालाबन्दी जारी राखिने उनीहरुको भनाई छ ।“कुनै प्रमाण वा आधार बिना मेरो घरमा खानतलासी गर्नुको उद्देश्य मलाई बदनाम गराउनु मात्र हो, पीडित राजेश यादवले भन्नुभयो, प्रहरीको कार्यले व्यवसाय र प्रतिष्ठामा क्षति पुगेको छ ।” यादवले आफू यातायात व्यवसायी भएको गाउँमा राम्रो प्रतिष्ठा रहेको दाबी गर्नुभएको छ ।

यादवका अनुसार उहाँ यसअघि गाउँपालिका अध्यक्ष रामक्ष्ोत्री प्रसाद कुर्मीसंग राम्रो सम्बन्ध थियो । तर पछिल्लो समय उहाँहरुबीचको सम्बन्ध बिग्रिएको थियो । सोही रिसिबी साध्न अध्यक्ष कुर्मीले गाउँपालिका प्रहरी लगाएर आफूलाई बदनाम गराउन खोजेको उहाँको आरोप छ ।स्थानीय युवा प्रकाश यादवले कुनै पनि व्यक्तिको घरमा प्रवेश गरी खानतलासी वा सोधपुछ गर्न गाउँपालिकासँग कुनै अधिकार नभएको बताउनुभयो । गाउँपालिकाले प्रहरीलाई कार्यालयको काममाभन्दा अनावश्यक काममा सक्रिय बनाएको उहाँको आरोप छ । “गाउँपालिकाको बजार क्षेत्रको फोहर व्यवस्थापनदेखि गाउँमा पूर्वाधार सुधार र निर्माणको काममा चासो छैन । कर्मचारीहरू मनलाग्दी गर्छन् । नगर प्रहरी पनि दिनभरि पार्टीको झोला बोकेर हिँड्छन् । अनि शङ्काको भरमा सर्वसाधारणको घर तलासी गर्नु गलत कार्य हो ।” उहाँले भन्नुभयो ।

नेपालको संविधानको अनुसूची–८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकालाई नगर प्रहरी (वा गाउँपालिका प्रहरी) गठन, सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिइएको छ ।यसको मुख्य उद्देश्य स्थानीय शान्ति–सुरक्षा कायम राख्ने, फोहर व्यवस्थापन, ट्राफिक नियमन, बजार व्यवस्थापन, अतिक्रमण हटाउने तथा विपद् व्यवस्थापनमा सहयोग पु¥याउने हो । तर, आपराधिक अनुसन्धान, घर खानतलासी, गिरफ्तारी जस्ता कार्य नेपाल प्रहरीको क्षेत्राधिकारमा पर्छ ।

Leave a Reply