काठमाण्डौ – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्र आज ढिला गरी शुरू भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा सोमवार बिहान साढे ७ बजेदेखि बन्दसत्र शुरू गर्ने यसअघिको निर्णय रहेकोमा केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ बजेपछि शुरू भएको हो ।बन्दसत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गरेको छ । यसअघि गएको भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १९ बाट घटाएर १५ मा झारेको थियो ।

आजको बैठकले फेरि विधान संशोधन गरेर अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ जना कायम गरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष रहनुभएका ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्ने गरी नवयुवा आन्दोलनलाई कारण देखाउँदै विधानमा संशोधन गर्नुभएको हो ।

अब एमालेको पदाधिकारी सङ्ख्या १९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय कायम भएको छ ।यस्तै बन्दसत्रले केन्द्रीय कमिटीमा चयन हुने ३ सय १ जनाको क्लस्टर निश्चित गरेको छ । जसमा १९ जना पदाधिकारी रहनेछन् । पदाधिकारी सबै खुला लडेर आउनुपर्नेछ । यस्तै उपत्यकासहित आठ प्रदेशबाट ९–९ का दरले ७२ जना चयन हुनेछन् । प्रदेशमा खुलातर्फ ५ जना, महिला ३ जना र युवा एक जना रहनेछन् । यस्तै खुलाबाट १ सय २५ जना चयन हुनेमा त्यसमध्ये ७१ खुला, ५२ महिला र २ युवाको कोटा छुटिएको छ । जनजाति÷आदिवासीतर्फ २५ जनाको कोटा रहेकोमा त्यसभित्र १५ खुला, ८ महिला र दुई युवाका लागि कोटा सुरक्षित छ । २० जना कोटा रहेको मधेशीतर्फ ११ खुला, ६ महिला र २ युवाको कोटा छ । प्रवासतर्फ २ जनाको कोटा रहेकोमा भारतबाट १ र अन्य देशका लागि १ कोटा छ । श्रमिकतर्फ ३ जनाको कोटा रहेकोमा २ खुला र १ महिलाको कोटा छ । अपाङ्गता भएका व्यक्तिका लागि एउटा खुला कोटा छ । १२ जनाको कोटा रहेको दलिततर्फ ७ खुला, ४ महिला र युवाका लागि १ कोटा सुरक्षित छ । ८ जनाको कोटा रहेको थारुमा खुलातर्फ ५ र महिलातर्फ ३ तथा ५ जनाको कोटा रहेको मुस्लिममा ४ खुला र १ महिलाका लागि कोटा छ । पिछडिएको क्षेत्रका लागि दुई जनाको कोटा रहेकोमा १ खुला र १ महिलाको कोटा छ । सबै क्लस्टरमा गरी एमालेमा ४० वर्षमुनिका कम्तीमा १५ जना केन्द्रीय सदस्य हुने निश्चित भएको छ ।

यस्तै एमालेको ११औं महाधिवेशन अन्तर्गत चुनावी कार्यतालिका प्रकाशित भएको छ । जसअनुसार भोलि बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता शुरू हुनेछ ।
विरोधका बीच विधान संशोधनकाठमाण्डौ – नेकपा एमालेको फेरि विधान संशोधन भएको छ । ११औं महाधिवेशनको बन्दसत्रअघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको विधान संशोधनको प्रस्ताव पारित भएको हो । अब पदाधिकारीको सङ्ख्या १९ जना पुगेको छ ।यसअघि भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १९ बाट घटाएर १५ मा झारेको थियो । अहिले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ जना कायम गरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष रहनुभएका ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्ने गरी नवयुवा आन्दोलनलाई कारण देखाउँदै विधानमा संशोधन गर्नुभएको हो ।नेता तामाङका अनुसार बैठकले विधान संशोधन गरी पदाधिकारी सङ्ख्या १९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको छ ।पुरानै विधान ब्युँत्याएकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई, नेता कर्ण थापा र काशीनाथ अधिकारीलगायतले विरोध गर्नुभएको छ । ११औं महाधिवेशन अन्तर्गत बन्द सत्रे भृकुटीमण्डपमा शुरू भएको छ । बिहान साढे ७ बजेदेखि बन्दसत्र शुरू गर्ने यसअघिको निर्णय रहेकोमा केन्द्रीय कमिटी बैठकका कारण दिउँसो १ बजेका लागि सारेकोमा फेरि ३ बजेपछि बन्द सत्र शुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

Leave a Reply