निजगढ,उपभोक्तहरुबीच विवाद भएपछि कार्यसमिति चयन गर्न नसकेको निजगढ ८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहले साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।समूहको सोमवार भएको अगुवा उपभोक्ता भेलाले आगामी पुष ९ गते साधारण सभासंगै नयाँ कार्यसमिति पनि चयन गर्ने निर्णय गरेको हो ।
यसअघि भएको साधारण सभाले नयाँ कार्यसमिति चयन गर्न नसकेपछि अर्को साधारणसभाबाट समूहको नयाँ कार्यसमिति पनि चयन गर्ने निर्णय भएको वन समूहका कार्यालय प्रमुख हरि न्यौपानेले जानकारी दिनुभयो ।
गत बैशाख २७ गतेको लागि तोकिएको निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने क्रममा उपभोक्ताहरुबीच उत्पन्न विवादले रोकिएको कार्यसमिति चयन सम्बन्धि सबै प्रक्रिया पनि खारेज गर्ने भेलाले निर्णय गरेको छ ।
वन समूहका अध्यक्ष रामप्रसाद ओझाको अध्यक्षतामा भएको सो भेलामा डिभिजन वन कार्यालय बाराका प्रमुख राजीवकुमार झा, वन अधिकृत वर्षा लामा, वन सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य दुर्गा कोइराला, निजगढ ८ का वडा अध्यक्ष सुवर्ण लामालगायत समूहका अगुवा उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
पदाधिकारी चयनको लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्ने क्रममा उत्पन्न विवादले समूहको नयाँ कार्यसमिति निर्वाचन प्रक्रिया रोकिएपछि समूहको काम प्रभावित हुदैआएको छ ।
डिभिजन वन कार्यालय सिमराले अगुवा उपभोक्ता भेला बोलाएर कार्यसमितिको पदाधिकारी चयन प्रयोजनको लागि निर्वाचन मण्डल गठन गर्न र पुरानो कार्यसमितिमार्फत नै लेखा परीक्षण गर्न गत मंसिर १५ गते पत्राचार गरेपछि समूहले बोलाएको भेलाले अर्को साधारण सभा आयोजना गरेर समूहको नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको हो ।


















