सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित दुधौरा खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको अवस्थामा डिभिजन वन कार्यालय बाराले एउटा जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको छ ।
डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले अवैध उत्खननमा प्रयोग भएका ढुवानीका साधन र उत्खननमा प्रयोग गरिएको उपकरण नियन्त्रणमा लिएको हो ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाका अनुसार कार्यालयको गस्ति टोलीले नदीमा अवैध उत्खनन गर्दै गरेको अवस्थामा ना ७ ख ४८२५ र मधेश प्रदेश ०३–००१ क ३०११ नम्बरको टिपर र एउटा जेसिबी बिहिवार दिउसो नियन्त्रणमा लिएको हो । उहाँले अवैध उत्खनन तथा भण्डारणमा प्रयोग भएका साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी पनि दिनुभएको छ ।वन कार्यालयका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका– १ बाट नदिजन्य पदार्थ उत्खननको ठेक्का पाएको ठेकेदार कम्पनीले वन क्षेत्रभित्र नियमविपरीत घाटगद्दी सञ्चालन गर्नुका साथै वातावरणीय अध्ययन तथा परीक्षण प्रतिवेदनविपरीत उत्खनन गरेको पाइएको छ ।
सोही आधारमा नदिजन्य पदार्थ बोकेको सवारीसाधन नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।डिभिजन वन कार्यालय बाराले प्राकृतिक स्रोतको अवैध उत्खनन र नदिजन्य पदार्थको दोहन रोक्न नियमित अनुगमन तथा गस्तीलाई अझ कडा बनाइने जनाएको छ ।वन सुरक्षाकर्मी राजेशकुमार साहको नेतृत्वमा नागेन्द्र बैठासहित सुरक्षाकर्मीहरुको टोलीले टिपर र जेसिबी नियन्त्रणमा लिएको हो ।



















