कलैया,बाराको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध नगद बरामद गर्दै एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर नजिकैको सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ आइरहेको लु ४ प ६४६२ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा मोटरसाइकलभित्र लुकाई छिपाइ राखिएको १० लाख ८० हजार नेपाली रुपैयाँ बरामद भएको हो ।
जिल्लाको बरैनियास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्दीप केसीको कमान्डमा खटिएको टोलीले उक्त रकमसहित मोटरसाइकल चालकलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।बरामद रकम र मोटरसाइकलसहित ती व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले बताउनुभयो ।सीमा क्षेत्रमा हुने अवैध नगद ओसारपसार तथा हवाला कारोबार रोक्न सशस्त्र प्रहरीले कडा निगरानी बढाएको जनाइएको छ ।
ब्राउन सुगरसहित पाँचजना पक्राउ
कलैया,बारा प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित निजगढका २ जना समेत गरी पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको निजगढ नगरपालिका– ८ बस्ने ४० वर्षीय राजकुमार लामा, निजगढकै २५ वर्षीय अविशेक श्रेष्ठ, जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीका ४२ वर्षीय कृष्ण महतो, सोही ठाउँका ३२ वर्षीय लालुकुमार बैठा र ३६ वर्षीय लालु साह रहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेंद्र श्रेष्ठले जानकारी दिनुभएको छ ।
फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी बस्ने ४२ वर्षीय कृष्ण महतोको घरमा ब्राउन सुगरको पुरिया बनाइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जको टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।ब्राउन सुगर जस्तो देखिने पदार्थ कालो प्लाष्टिकको पुरियामा प्लाष्टिक सहित २२ ग्राम ८७० मिलिग्राम र सेतो प्लाटिकको पुरियामा प्लाष्टिक सहित ७ ग्राम ९४० मिलि ग्राम बरामद गरेको हो ।लागू औषधसहित प्रसौनीमा ल्याई उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

















