मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– १ सुकुम्बासी टोलकी ६५ वर्षिय बिन्तीकुमारी परियार २ दशकदेखि बेपत्ता भएको आफ्नो एक्लो छोरा विनोद घर फर्किन आशामा अहिले पनि बाटो कुरेर बस्ने गर्नुहुन्छ । ‘समय जति बितेपनि रगतको नाता बिर्सिन नसकिने रहेछ, उहाँले भन्नुभयो, बाटोमा कुनै नौलो मान्छे हिड्यो भने पनि आफ्नै छोरोको झझल्को आउँछ ।’

मजदुरीको लागि घरबाट निस्केका बिन्तीकुमारीको एक्लो छोरा विनोद ०६२ सालदेखि फर्किएका छैनन् । परिवारमा आम्दानीको अर्को स्रोत नहुँदा करिव १८ वर्षका विनोद गाउँमै ज्यालाबनी गर्न भनेर घरबाट स्किेका थिए । ‘धेरै खोजबिन गरिसकियो, तर आजसम्म कुनै खबर पाउन सकिएन, उहाँले भन्नुभयो, तर पनि आशा मरिसकेको छैन, अझै पर्खाइमै छु ।’

कमाएर परिवार चलाउने विनोद बेपत्ता भएपछि बिन्तीको परिवारमा अवस्था झन् नाजुक बनेको छ । यसबीचमा परिवारमा बुवा र भाइ दुवैको निधन भइसकेको छ । घरमा अब एक्ली बृद्ध बिन्तीमात्रै हुनुहुन्छ । छोरा फर्किने आशासंगै उहाँले गाउँघरमा ज्याला बोहोनी गरेर दैनिक हातमुख जोडदै आउनुभएको छ ।‘छोरा, तिमी कहाँ छौ ? जहाँ छौ, त्यहीबाट घर फर्क । तिम्रो बुवा र भाइ पनि बितिसके, यो संसारमा अब तिमी बाहेक मेरो कोही पनि छैन ।’ आँखाको गहाभरि आशु पार्दै उहाँले भन्नुभयो ।

उहाँले छोराको अवस्था पत्ता लगाउन र घर फर्किने वातावण बनाइदिने कार्यमा सहयोग गर्न बिन्तीले सबैसंग अनुरोध गर्नुभएको छ । ‘छोरासंग विछोडिनुपर्दाको पीडा कस्तो हुँदो रहेछ, अहिले आफै भोग्दैछु, उहाँले भन्नुभयो, कसैले कतैबाट छाराको खबरमात्रै ल्याइदिए पनि आभारी हुने थिएँ ।’छिमेकी र स्थानीयवासीले पनि विनोदको खोजीमा राज्यले चासो देखाएर अवस्था पत्ता लगाइ दिनुपर्ने माग गरेका छन ।

Leave a Reply