काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ–तराई–मधेस द्रुतमार्गको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आइतवार सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग छलफल गर्नुभएको हो ।प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोजनाको अहिलेको प्रवेश विन्दुु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि अहिलेसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको छ । खोकना क्षेत्रमा नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्पबारे छलफल भएको छ ।
छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासिन्दाको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्तावित प्रवेशबिन्दु खोकनामा जमिन स्वामित्व र सांस्कृतिक पहिचानसम्बन्धी विवादले निर्माण कार्य प्रभावित हुदैआएको छ ।
स्थानीयवासीले पुर्खौंदेखि भोगचलन गर्दै आएको जमिनलाई सरकारले राष्ट्रिय वनक्षेत्रको रुपमा देखाउँदै सडक परियोजना अघि बढाउँदा स्थानीय समुदाय आन्दोलित बनेका छन्।द्रुतमार्ग खोकना क्षेत्र हुँदै पार गरिने सरकारी योजनाको विरोध गर्दै स्थानीय नेवार समुदायले निर्माण कार्य अवरुद्ध पार्दै आएका छन्। उनीहरूको भनाईमा, खोकना र बुंगमती क्षेत्र पुर्खौली बस्ती तथा सांस्कृतिक सम्पदायुक्त भूभाग भएकाले जबरजस्ती अधिग्रहण संविधानविरुद्ध पनि छ।
द्रुतमार्ग परियोजनालाई राष्ट्रिय गौरवको आयोजना मानेर सरकारले अघि बढाइरहे पनि प्रभावित क्षेत्रका नागरिकहरू उचित परामर्श, वैकल्पिक पुनर्वास र न्यायपूर्ण मुआब्जाको माग गर्दै आएका छन्। तर सरकारको तर्फबाट हालसम्म स्पष्ट पहल र सहमति जुटाउने प्रयास हुन नसकेको स्थानीयको आरोप छ।सम्बन्धित निकायका अनुसार सडक निर्माणका लागि आवश्यक जमिनको नक्सा वन मन्त्रालयले तयार पारेको र सो क्षेत्रलाई वन क्षेत्रको रुपमा सूचीबद्ध गरिएको छ। तर स्थानीयले त्यसलाई अस्वीकार गर्दै संविधानअनुसार आदिवासी जनजातिको पुर्खौली जमिन अधिकार मान्यता दिनुपर्ने माग राखेका छन्।


















