रौतहट,रौतहटको फतुवा विजयपुर नगरपालिकामा २५ दिनदेखि जारी तालाबन्दी आइतबारदेखि अन्त्य भएको छ । नगरपालिका कार्यालयमा कार्यरत करार कर्मचारीको २०८३ असार महिनासम्मको म्याद थप गर्ने सहमति भएसँगै तालाबन्दी खुलेको हो ।नगरपालिका कार्यालयमा कार्यरत करिव ८५ जना करार कर्मचारीको म्याद २०८२ कात्तिकदेखि थप नगर्ने निर्णय भएसँगै कात्तिक २६ गतेदेखि अनिश्चितकालीन तालाबन्दी भएको थियो । नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले तालाबन्दी अन्त्य गर्दै कार्यालय सुचारु गर्न करार कर्मचारी र कार्यपालिकासँग समन्वय गर्दै आउनुभएको थियो ।

नगरपालिकाका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले कार्यालयमा कार्यरत करार कर्मचारीलाई हटाएर नयाँ भर्ना गर्न लागेको भन्दै कर्मचारीहरुले आन्दोलन गर्दैआएका थिए ।आन्दोलन नरोकिएपछि आन्तरिक आयबाट तलब भत्ता खुवाउन कार्यबाहक नगरप्रमुख खातुनले सहमति जनाए पनि नगरपालिकाको आन्तरिक आय न्यून रहेको भन्दै लेखा अधिकृत सहनीले कुनै पनि बहानामा काम गर्ने कर्मचारीको तलब नरोकिनुपर्ने अडान लिएपछि राजस्व बाँडफाँटबाट तलब भत्ता खुवाउने सहमति भएको छ ।सहमति भएसँगै आइतबारदेखि कार्यालय सुचारु भएको छ भने निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा प्रशासन समूह अधिकृत दशौँ मदनकुमार थापाले सम्हाल्नुभएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थापालाई गएको मङ्सिर ९ गते नै आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित निमित प्रमुख प्रशासकीय अधिकृत तोके पनि जारी तालाबन्दीको कारण पदभार ग्रहण गर्न सक्नुभएको थिएन ।

Leave a Reply