वीरगञ्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा अनलाइन सट्टाबाजी गरेको आरोपमा पर्सा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।धबार सम्पन्न आइपीएलको मुम्बई इन्डियन र लखनउ सुपर जाइन्ट्सबीच भएको सेमी फाइनल खेलमा अनलाईन सट्टाबाजी गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ वर्षीय मुन्ना भनिने धर्नामाथप्रसाद जयसवाललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जारी गरेको प्रेस नोटअनुआर प्रहरीले वीरगञ्ज महानगरपालिका – १५ स्थित सञ्जय श्रीवास्तवको घरमा आइपीएल खेलको अनलाइन सट्टाबाजी चलिरहेको विशेष सूचना प्राप्त गरेको थियो ।सूचनामाथि कारबाही गर्दै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले श्रीवास्तवको तिन तल्ले घरको कानूनी रीत पु¥याई खानतलासी गर्दा यादवद्वय, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरी नियन्त्रणमा लिएको प्रेस नोटमा उल्लेख छ ।डिएसपी गिरीकाअनुसार प्रहरीले उनीहरुको साथबाट ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ बरामद गरेको छ भने अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनिको मोबाईल, ल्यापटप र टेलीभिजन सेट पनि जफत गरेको छ । पक्राउ परेकाहरुमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर जिल्ला अदालत पर्साबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।प्रत्येक वर्ष आइपीएल र अन्य क्रिकेट खेलका क्रममा वीरगञ्जमा दैनिक लाखौँको सट्टाबाजी हुनेगरेको छ । पछिल्लो समय युवाहरुपनि अनलाइन सट्टाबाजीमा होमिन थालेका छन् । वनएक्स बेट भन्ने एप मार्फत युवाहरुले पनि क्रिकेट र अन्य खेलमा अनलाईन सट्टाबाजीमार्फत पैसा लगाउने गरेको पाइएको छ ।अनलाइन सट्टाबाजीको जन्जाल ठूलो भएपनि नियन्त्रण गर्न प्रहरी, प्रशासन र सम्बन्धित निकाय मौन देखिएको छ । अनलाइन सट्टाबाजी प्रहरीकै संरक्षणमा हुनेसमेत समयसमयमा आरोप लाग्दै आएको छ ।


















