सिमरा,मधेस प्रदेशमा ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने सवारी चालकविरुद्ध कडा कदम चाल्दै चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ ।
बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बिहीबारदेखि यो अभियान सुरु गरेको हो ।

कार्यालयका अनुसार पहिलो चरणमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने आठ जना चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था कार्यालय वीरगन्जलाई सिफारिस गरिएको छ । ती चालकहरू ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टीभीआरएस) मार्फत पहिचान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० बमोजिम यस्तो कारबाही गर्न सकिने व्यवस्था रहेको छ । ऐन अनुसार पाँच पटकभन्दा बढी नियम उल्लंघन प्रमाणित भएमा सम्बन्धित अधिकारीले चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्न सकिने छ ।
मधेस प्रदेशमा पहिलो पटक यस्तो प्रक्रिया सुरु भएको हो । ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतले यस कदमले चालकहरूलाई जिम्मेवार र जवाफदेही बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पटकपटक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा ल्याउन यसले प्रभावकारी भूमिका खेल्नेछ र जसबाट सडक दुर्घटना तथा जनधनको क्षति न्युनिकरण हुने अपेक्षा गरिएको छ ।

बस्नेतले प्रदेशका आठवटै जिल्लामा टीभीआरएस प्रणालीमार्फत नियम उल्लंघन गर्ने चालकको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिनुभएको छ ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको यस्तो कार्यबाट सवारी दुर्घटना न्यूनीकरण भएर सर्वसाधारणको ज्यान जोगाउन मद्दत पुग्ने बताइएको छ ।

Leave a Reply